गाउँघरबाट हराउन थाले पिङ
काठमाडाैं | असोज ९, २०७९
काठमाडौं । नेपालीको महानपर्व दसैँ सोमबारदेखि सुरु हुँदैछ । सोमबार घटस्थापनासँगै यस वर्षको दसैँ घरघरमा प्रवेश गर्नेछ ।
घटस्थापनाको सङ्घारमा कतिपय देवीदेवताका मन्दिरमा रङरोगन, सरसफाइ चलिरहेको छ । मठमन्दिरसहित घरमा घटस्थापनाका लागि आवश्यकपर्ने पूजा सामग्रीका जोहो गर्न थालिसकिएको छ ।
बजारको चहलपहलले दसैँ प्रवेश गरिसकेको सङ्केत गर्न लागेको छ । तर, दसैँको पर्यायवाची जस्तै बनेको पिङ भने गाउँघरबाट हराउँदै जान थालेको छ । दसैँ प्रवेशको दिन घटस्थापना आइसक्दा पनि गाउँघरमा पिङ राख्ने सुरसार बिरलै देख्न सकिन्छ । “पहिले दसैँ आउनु एक साताअघि पिङका लिङ्गा खोज्ने, बाँस काट्ने, भेटे बजारमा पाउने लठ्ठा नभए, बाबियो काटी डोरी बाट्ने चटारो हुन्थ्यो,” कावासोतीका स्थानीय विनोद सिग्देलले भन्नुभयो, “अहिले सबै नौलो जस्तो बनेको छ, गाउँघरमा पिङ राख्ने चलन घट्दै गएको छ ।”
गाउँघरका चोक, चौर, चौतारामा दसैँ लाग्नु अघिनै पिङ राख्ने चहलपलसँगै सबै भेट्ने थलो बन्ने गरेको, बालबालिकामा पिङ खेल्ने उत्साह हुने गरेको उहाँले स्मरण गर्नुभयो । “कति रमाइलो हुन्थ्यो, पिङ राख्ने भनेपछि टोल छरछिमेक सबै जम्मा हुने गार्थौँ, बाहिरबाट आएका पनि जम्मा हुने बहाना बन्थ्यो, बालबालिकाको उत्साह उस्तै हुन्थ्यो,” सिग्देलले भन्नुभोय, “पिङ मात्रै हराएन, पिङसँगै दसैँको रमाइलो पनि हराए जस्तो लाग्न थाल्यो ।”
नेपाली संस्कृति परम्परा अनुसार दसैँमा पिङ राख्ने चलन छ । अझ गाउँघरमा दसैँको टीकाको दिन एक पटक भए पनि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने बिश्वास रहिआएको छ । तर, नेपाली संस्कृति बोकेको पिङ आफैमा गाउँघरबाट हराउने अवस्थामा पुगेको छ । कावासोतीका रमाकान्त पौडेलले भन्नुभयो, “सहरबजारमा त केही वर्ष पहिलेनै पिङ हराउदै गएका थिए, अब गाउँघरमा समेत हराउन थाले, यसले दसैँको उमङ्ग पनि घट्दै गएको छ ।” बजार क्षेत्रमा सार्वजनिक स्थानको कमी, मनोरञ्जनका विभिन्न विकल्प, सामाजिक सञ्जालमा रमाउने जमात बढ्दा दसैँमा पिङ राख्ने विषय गौड बन्दै गएको उहाँको भनाइ छ ।
“सहर बजारमा पिङ राख्ने सार्वजनिक खाली ठाउँ पनि पाउन मुस्किल बन्न थाल्यो, त्यसमाथि मान्छे टिभी, युटुब, फेसबुक र टिकटकमा रमाउन थाले,” पौडेलले भन्नुभयो, “सहरबजारका मानिसको दैनिकी पनि आफैमा व्यस्त हुन्छ, कसले पिङका लिङ्गा खोज्नु, कसले लठ्ठा खोज्नु ।”
गाउँघरमा भने युवा जनशक्तिको अभावमा पिङ राख्ने चलनमा कमी आएको होकी भन्ने हुप्सेकोटका रामकृष्ण चापागाईंको ठम्याइ छ । “रोजगारीको खोजीमा युवा जति कोही सहर पसे, कोही विदेश लागे, गाउँ घर रित्तो जस्तो बनेको छ, पिङ राख्न पनि मेहनत चाहिन्छ, जनशक्ति चाहिन्छ,” चापागाईंले भन्नुभयो, “यसैले पहिले जस्तो चहलपहल पनि हरायो, पिङ राख्ने चलन पनि हराउँदै जान थाल्यो ।” फाट्टफुट्ट रुपमा कही कतै पिङ राख्ने गरेको भए पनि पहिलेको भन्दा निक्कै कम भएको चापागाईंले बताउनुभयो ।
पहिले टोल टोलमा राखिने पिङ अहिले सिङ्गो गाउँमा भेट्न मुस्किल हुने गरेको उहाँको भनाइ रहको छ । पहाडी क्षेत्रसँगै गाउँघरमा पहिले पहिले रोटे पिङ राख्ने गरेकोमा यो भने लोपै हुने अवस्थामा पुगेको उहाँको भनाइ छ ।
दसैँ र तिहार जस्ता चाडमा राखिने पिङसँगै मौलिक परम्परा हराउने हो की भन्ने कतिपय सामाजिक अगुवाले चिन्ता व्यक्त गर्ने गरेका छन् । विभिन्न चाडपर्वसँगै जोडिएका परम्परा, संस्कृतिको मौलिकता गुम्न नदिन पर्वसँगै जोडिएका परम्परागत कार्यकोसमेत जगेर्ना गर्दै जानुपर्ने उनीहरुको भनाइ छ । “हामीले हाम्रा संस्कृति, परम्पराको मौलिकता जोगाउन, विभिन्न पर्वसँगै जोडिएका परम्परागत कार्यलाई समेत जगेर्ना गर्दै जानुपर्छ, यी सबै हराउन सक्छन्, यसका लागि सबै लाग्नुपर्छ”, कावासोती–१७, का अगुवा युक्तप्रसाद गौडेलले भन्नुभयो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

